आोखलढुंगामा वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम संचालन

ओखलढुंगा, पौष १३ गते - नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सँगको सहकार्यमा ओखलढुंगाका ७ वटा सहकारीले वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम सञ्चालन गर्न थालेका छन् ।

ग्रामीण भेगमा रहेका नागरिकमा वित्तीय साक्षरता बढाउन समृद्धिको प्राविधिक तथा आर्थिक सहयोगमा तालिम सुरु भएको हो । ओखलढुंगा जिल्लामा आयोजनाको प्राथमिकीकरणमा परेका स्थानीय तहमा रहेका गरिब, महिला, युवा, वैदेशिक रोजगारमा रहेका व्यक्ति तथा परिवारका सदस्यलाई तालिम दिन सुरु गरिएको छ । जिल्लाका सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका, सुनकोसी गाउँपालिका, चम्पादेवी गाउँपालिका र चिशंखुगढी गाउँपालिकामा रहेका सहकारीमार्फत दुर्गम भेगका बासिन्दालाई वित्तीय शिक्षा तथा उद्यमशिलता सम्बन्धी ज्ञान दिन थालिएको हो । पहिलो चरणमा प्रत्येक सहकारीले आयोजनाको उद्देश्यअनुसार ३० जनाको समूह बनाएर १८ घण्टे ५ वटा तालिम सञ्चालन गर्ने आयोजनाका वित्तीय समावेशी अधिकृत समिल कार्कीले जानकारी दिए । जिल्लाभर पहिलो चरणको ३५ वटा तालिम समापन गरेपछि दोस्रो चरणको तालिम दिन सुरुवात गरिने कार्कीको भनाइ छ ।

आयोजना लागू प्रदेश नं. १, २ र ३ का १६ वटा जिल्लाका सहकारीमार्फत यसरी नै ५० हजार सदस्यतालाई वित्तीय शिक्षा प्रदान गर्ने आयोजनाले लक्ष्य लिएको छ । आयोजनाले १६ वटै जिल्लामा कृषि तथा गैरकृषि दुवै क्षेत्रमा काम गरिरहेको छ ।

श्रोत सामाग्रि नि्म्न वेवपेजमा पनि प्रकाशित गरिएको छ।​