तरकारी खेतिले जीवन जिउने आत्माविश्वास जगायो

मुख्य विषय–वस्तु:   हरियो तरकारी आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन

सामाजिक इकाई : भोजपुर नगरपालिका वडा नं. १२ पैयाँपानी

घटना अध्ययन मिति:  वैशाख, २०७७              

 

'समृद्धि' आयोजनाको हरियो तरकारी आपूर्ति श्रृंखला तरकारी कृषक समुहमा आबद्ध रिता सुवेदीले भोजपुर नगरपालिका वडा नं. १२ पैयाँपानीमा, दश रोपनीजग्गामा तरकारी खेति गरेकी छन्। भोजपुर बजारबाट करिब ५ कि.मि. भित्रको स्थानमा उनले  टमाटर, काउली, बन्दाकोभि, फर्सी, काँक्रो, मटरकोसा जस्ता मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएकी छन्। जस मध्ये टमाटर सबै भन्दा धेरै उत्पादन हुन्छ।  

३७ वर्षीया एकल महिला रिताको, १७ वर्ष अगाडी विवाह भएको थियो, उनको १५ वर्षको एक छोरा पनि छ । तर उनका श्रीमानले दोस्रो विवाह गरेपछि दुईजनाको सम्बन्ध बिग्रिन गयो । यहाँ सम्मकी श्रीमान् ले उनलाई नागरिकताका लागि सिफारिश दिन पनि ईन्कार गरे।  त्यसपछि रिता आफ्ना माता-पिता र छोरा संगै भोजपुर नगरपालिकाकै वडा नं.१२ पैयाँपानीमा बस्दै आएकी छन्। श्रीमानसँग सम्बन्ध बिग्रिएपछि जीविकोपार्जनको खोजिमा अरूको जमिन भाडामा लिएकी रिताले चार वर्ष अगाडि १५० बोट टमाटरबाट तरकारी खेति शुरु गरेकी हुन्। हाल उनी स्थानीय बजारमा प्रति हप्ता ४ हजार देखि २० हजार रूपैंया सम्मको तरकारी बेच्ने भएकी छन्।

उनी भन्छिन्  “पहिला त हामी मकै कोदो नै रोप्थ्यौँ तर वरीपरीका छिमेकीहरुले तरकारी रोपेको देख्दा मलाई पनि रहर लाग्यो । मैले पनि १५० वोट टमाटरको विरुवा किनेर रोपेँ । निकै  राम्रो फल्यो । शनिबारे हाटमा लगेर केही बेचेँ । त्यसपछि गर्दा हुने रहेछ भन्ने लाग्यो अनि मकै कोदोको सट्टा तरकारी लगाउन थाल्यौँ । आजकाल हप्तामा २० हजार रुपैंया सम्मको बेच्दछु ।”

यसैका बिच एकवर्ष अगाडी ग्रामिण उद्यम तथा विप्रेषण आयोजना संग सहकार्य गर्ने मौका जुर्यो र आयोजनमा प्रस्तावना पनि पेश गरिन्। आयोजनाको पहलमा यस किसान समुह र स्थानीय व्यापारी बीच छलफल भई(बि२बि) सम्बन्ध विस्तार भएपछि बजारीकरणमा सहज भएको उनी बताउँछिन् । "समृद्धि आयोजनाको समन्वयमा व्यापारीहरुसँग सम्पर्क जुट्यो ।" उनले थपिन्।  तरकारी खेतिको आम्दानीले आफ्नो चार जनाको पारीवारीक खर्च र पिताजीको उपचार गर्न अभाव नभएको, आँफूमा खुसी र आत्माविश्वास बढेको, पहिलाको भन्दा अहिले घर चलाउन सजिलो भएको रिता बताउंछिन्।  उनलाई आजकल, वर्षको ३० हजार जग्गाको भाडा साथमा मल, बिउ र आवश्यक सामाग्री किन्न तथा चाडवाड मनाउन खासै समस्या हुँदैन ।

टमाटरको बास्केट भुइँमा राखेर निधारमा झरेको कपाल पछाडि सारिन् अनि बायाँ हातले पसिना पुछेर हाँस्दै भनिन्, —“पति संग सम्बन्ध राम्रो भएको भए म सँग सँगै जिउँथें होला, सम्बन्ध राम्रो भएन तरकारीलाई साथी बनाएँ । तरकारी खेतिले मेरो जीवन सजिलो बानाइदियो । अबको जीवन पनि यही तरकारी फलाएर बाँच्न सक्छु जस्तो लाग्छ ।”