परिवर्तन महशुस गरेकी फुलतोर देवी

फुलतोर देवी साह हिजो आज निकै खुसी भएको महशुस गर्दछिन् । "समृद्धि आयोजनाको गाल्स कार्यक्रममा सहभागी भएपछि दैनिक जीवनमा हुनु पर्ने काम कुरा त यस्तै नै हो नि भन्ने लाग्यो र आँफूलाई  लैंगिक कार्य सिकाइ पद्धति(गाल्स /GALS) तालिम भित्रै पाउन थालें" फूलतोर बताउँछिन्। महोत्तरी गौशाला न.पा. १२ लक्ष्मिनियामा बस्ने उनी लक्ष्मिनिया तरकारी उत्पादन समूहकी सचिव समेत रहेकी छिन्। हाँस्दै उनले थपिन्- "कृषि समूहमा पहिला पनि बसियो, तालिम लिइयो, तर गाल्स तालिमले चाहिं मेरो र परिवारको जीवनमा परिवर्तन ल्याएको  महशुस गरेकी छु।"

समूहमा रहँदा आर्थिक जीविकोपार्जनमा केही सुधार आएता पनि यसरी परिवारको सदस्यहरूको व्यवहारमा नै सकरात्मक परिर्वतन भने गाल्स तालिमबाट सम्भव छ,भनि उनी विश्वास दिलाउँछिन्। गत सालको चैत महिनामा गाल्स तालिम लिएर घर फर्केकै दिन, उनले तालिममा सिकेको बुझेका कुराहरू सबै भन्दा पहिला पतिलाई बताइन् ।

पारिवारीक जीवनमा  पति-पत्नीको भूमिका, आपसी सरसहयोगबाट नै जीवनको सपनाहरू पुरा हुन सक्ने कुरा बारे  पतिलाई राम्रोसंग सम्झाइन्। त्यसपछि क्रमश: सासु, ससुरा, छोरा,छोरी, छरछिमेक अनि समूहका अन्य सदस्यहरूलाई पनि गाल्स तालिममा सिकेका अभ्यासहरू साँटिन्। "सिकाएका सबै परिवार सदस्यले उत्तिकै महत्वका साथ ग्रहण नगरे पनि श्रीमानले भने आफूंमा धेरै परिवर्तन ल्याउनु भयो, मेरो कुरा वुझिदिनु भयो"— उनी थप्छिन्। घरका मूलि श्रीमानले पहिला बुझिदिंदा घर व्यवहार तथा परिवारमा परस्पर हुने आर्थिक र व्यवहारीक दुवै काममा आँफूलाई धेरै सजिलो हुन्छ भन्ने उनको विश्वास छ।

"तास धेरै खेल्ने, समयमा घर नआउने, पारिवारीक दु:ख सुखका कुरा कानिमा खासै परवाह नगर्ने, घरको काममा फिटिक्कै सहयोग नगर्ने, खेतीबारीको काम गर्नु पर्दा पनि धेरै ध्यान नदिने मेरा श्रीमान हिजो आज मेरा हर कुरालाई सकारात्मक रूपमा  हेर्न र सुन्न थाल्नु भएको छ। बल्ल हामी एक रथका दुई पाङग्रा जस्तो भएको अनुभव गर्न थालेका छौं" फूलतोरले सुनाईन्। उनि थप्छिन् - "त्यति मात्र नभई गाउँमा गाल्स अभ्यासबारे  सिकाउन जाँदा पनि साथ दिने हुनु भएको छ। जबकि हिजो-अस्ति घरभन्दा बाहिर निस्केर हिंडेकोमा खटपट गर्ने पति आजभोलि सामाजिक कृयाकलापमा सामेल हुन प्रोत्साहित गर्नु हुन्छ। परिवारको सपना पुरा गर्न आम्दानी बढाउनु पर्ने, पारिवारिक मेलमिलाप र आपसी समझदारी हुनु पर्ने बारे आफ्ना पतिले  राम्ररी बुझ्न थालेको कुरा फुलतोर देवी गर्व गर्दछिन्।

हँसिली फूलतोर देवीको परिवारले हाल १० कट्ठामा व्यवसायिक तरकारी खेती गरिरहेका छन्। समृद्धि आयोजनाको अनुदानसंग पनि उनी जोडिएर उनले विद्यमान तरकारी खेती विस्तार गरेर १ बिगाहमा गर्ने योजना बुनेकी छिन् । उनको आर्जित यस्तै आम्दानीबाट निकट भविष्यमा पक्की घर बनाउने, छोरा छोरीलाई राम्रो शिक्षा दिलाउने सपना छ ।